Thursday, April 30, 2015

भासिएको घर देखाउँदै विकास भन्छन् ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ’... (Nepal Earthquake disaster)

भासिएको घर देखाउँदै विकास भन्छन् ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ’...
उजिर कार्की/उज्यालो । काठमाडौं, वैशाख १७ – मकवानपुरका विकास तामाङ पाँच दिनदेखि भूकम्पले दाईलाई पुरेको घर घुमेर बिताइ रहनु भएको छ । ललितपुरको हरिसिद्धीमा रहेको पाँचतले घरको दोस्रो तलामा दाजु भाउजुसँगै बसेका तामाङ दाजु त्यही घरमा पुरिएपछि बिहान सबेरैदेखि राति अबेरसम्म त्यही घर फनफनी घुमेर बिताउनुहुन्छ ।
तीन तला भासिएको घर घुमेर पुरिएका दाईलाई कतैबाट निकाल्न सकिन्छ कि भनेर अनेक उपाय खोज्नुहुन्छ । अनि कोही आउँनासाथ यिनले पो दाई निकाल्छन् कि भनेर आशा गर्नुहुन्छ । अनि त्यहाँ पुग्नेलाई दाई बसेको कोठा देखाउँदै भन्नुहुन्छ ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ ।’ राति अबेरसम्म पनि कोही आऊला र दाईलाई निकालि देला कि भन्ने आशामा वरपर गरिनै रहनुहुन्छ । जो पुगे पनि दाई पुरिएको ठाउँ देखाउदै सोध्नुहुन्छ ‘अब म के गरौं ?’ शनिबारको भूकम्प जाँदा विकास बाहिर जानु भएको थियो । दाई एक्लै मुर्ति कुँदिरहनु भएको थियो । भाउजु नानी लिएर चर्चमा प्रार्थना गर्न जाँदै हुनुहुन्थ्यो । त्यहि बेला भुईंचालो आयो ।
भुईंचालो गएको दुई मिनेटपछि देवर भाउजु फर्किंदा दाजु कितावसँग भेट भएन । बाहिरै भएकाले देवर भाउजु र भतिजो जोगिए । तर दाई भाग्दा भाग्दै पुरिनुभयो । बसेको घरै तिनतला भासियो । त्यहि दिनदेखि विकासका दिन टोलाएरै वितिरहेका छन् । भाउजुसँग सानो नानी छ उहाँको पनि विजोग छ । घरमा बा आमा मुर्छित हुनुहुन्छ । काठमाडौंं आउन खोजिरहनु भएको छ । तर दाई फेला नपरेकाले विकासले नआउनु भन्नु भएको छ । मकवानपुरका यी दाजुभाई केहि वर्षअघि काठमाण्डौं आएका हुन् । हातमा मुर्ति कुँद्ने सीप भएका तामाङ दाजुभाईसँग मुर्ति बेचेरै परिवार पाल्दै थिए । काठमाडौंको महँगीमा बसेर तामाङ दाजुभाईले मकवानपुरमा रहेका बुढा बाआमाको पालनपोषण र भाईबहिनीलाई पठनपाठनमा पनि सहयोग गरिरहेका थिए । दिनरात दाईसँगै बसेर मुर्ति बनाईरहेका विकास पुरिएका दाईको उद्धार गर्न नसकेकोमा दुखित र निसहाय हुनुहुन्छ ।
दाजु किताव तामाङलाई निकाल्न बारम्बार उद्धार टोली पुगे पनि अहिलेसम्म निकाल्न सकेको छैन् । बुधबार विषेश अध्ययन भएकाले थप उपकरण सहित आउने भन्दै उद्धार टोली फर्किएको छ । पटक–पटक पुगेको टोलीले उद्धार गर्न नसकेपछि दाई जिवितै फेला पर्ने झिनो आशा मात्रै बाँकी छ विकाससँग ।
Pray For Nepal
#Nepalearthquake_disaster